लुम्बिनी महिला कप उपाधिका लागि एपीएफ र पुलिस भिड्ने

काठमाडौं । बैशाख ११, विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।
नेपालगन्ज रंगशालामा बुधबार भएको दोस्रो सेमिफाइनलमा एपीएफले रौतहट फुटबल संघलाई ३-० ले पराजित गर्दै पुलिसँग फाइनल खेल भेट पक्का गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा एपीएफले तीन गोल गरेको थियो । एपीएफको लागि दोस्रो हाफमा अनिता केसी, निशा ठोकर र सबिता राना मगरले १–१ गोल गरे । खेलमा प्लेअर अफ अफ दि म्याच एपीएफकी अनिता केसी भइन् ।
अनिता केसीले ७३औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । त्यसमाले निशाले ८०औं र सबिताले ९०औं मिनेटमा गोल थपिन् । यसअघि पुलिसले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा हराएर फाइनलमा स्थान बनाइसकेको छ । जितपछि एपीएफका प्रशिक्षक भगवती थापाले फाइनल जितेर नै जाने बताइन् । उनले विभागीय टिमबीच फाइनलमा कडा प्रतिस्पर्धा हुने बताइन् ।
यस्तै कप्तान अनिता बस्नेतले एक अर्काबिच समन्वय नमिल्दा गोल गर्ने धेरै अवसरबाट बन्चित भएको बताइन् । साथै उनले रौतहट टिमलाई खुलेर प्रशंसा समेत गरिन् । यस्तै रौतहटका कप्तान सलोनी मगरले डिफेन्स र किपरको समन्वय नमिल्दा गोल व्यहोरेर्नु परेको बताइन् । उनले विभागीय बाहेकको टिम भएको भए सहज जित हुने दाबी समेत गरीन । यस्तै कोच भोजराज घिमिरेले आफुहरुको प्रतिस्पर्धा प्राय विभागीय टिम संगै पर्ने भएकाले विभागीय बाहेक पनि प्रतिस्पर्धा गराउन आयोजकलाई अनुरोध गरेका छन् ।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएको प्रतियोगिताका विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्नेछ । फाइनल खेल वैशाख १२ गते हुने छ ।