बजेट अधिवेशन आजदेखि सुरु हुँदै, प्रतिनिधिसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

सहयात्रा टिभी

काठमाडौं । बैशाख १२, सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आह्वान भएअनुसार आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बैठक बस्न लागेको हो ।

अधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने तयारी छ । यस्तै, अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र, प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पनि पढेर सुनाउने कार्यसूची रहेको छ ।

बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसद सदस्यहरूको मनोनयन गर्ने छन् । यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यसअघि संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो ।

प्रकाशित : 25 April, 2025

प्रतिक्रिया दिनुहोस्