तनहुँमा चितुवाको आक्रमणबाट ८ वर्षमा १६ बालबालिकाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । वैशाख २३, चितुवाको आक्रमणबाट तनहुँमा आठ वर्षमा १६ बालबालिकाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट २१ घाइते भएका छन् । चितुवाबाट जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यास लगायतका पालिकामा बढी प्रभावित छन् ।

चितुवाको आक्रमणबाट सबैभन्दा धेरै भानु नगरपालिका प्रभावित भएको छन् भने हाल बन्दीपुर गाउँपालिकामा आतङ्क बढेको छ । वि.सं. २०७४ फागुन ९ गतेदेखि हालसम्म आठ वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी ११ बालक र पाँच बालिकाको गरी १६ बालबालिकाको मृत्यु भएको डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत तथा सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की वर्ष ८ की सुप्रीति थापा, बन्दीपुर–१ का वर्ष ५का सुप्रिम थापा, बन्दीपुर–३ की वर्ष ११ को डिना चेपाङ छन् । यस्तै गरी, व्यास नगरपालिका–१२ छर्कनका वर्ष ८ का अभिनव कुँवर भानु नगरपालिका–३ का वर्ष ६ का विशाल श्रेष्ठको मृत्यु भएको छ । त्यसै गरी भानु–४ की वर्ष ४ को रञ्जिता लम्साल, भानु–२ की वर्ष वर्ष ८ को पुष्पा अधिकारी, सोही वडाका वर्ष १० का अमृत गुरुङ, वर्ष ७ को ऋतिक रोका मृत्यु भएको छ ।

यसैगरी, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का वर्ष २ का रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१ का वर्ष ८ को पुजन सिञ्जाली, बन्दीपुर–४ का वर्ष ११ का इसाक सुनार र शुक्लागण्डकी–२ नारायण रानाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–५ याम्पाका १३ वर्षीय सुन्दर अछामीको २०८१ साल साउन ४ मृत्यु भएको थियो । यस्तै २०८१ साल चैत २९ गते इसुब विकको ९ वर्षको छोरी अनुजा बिकको मृत्यु भएको छ । बन्दीपुरमा नौ महिनाको अवधिमा दुईको मृत्यु भएको हो ।

वन्यजन्तुको आक्रमणमा परेका १४ परिवारलाई एक करोड ४० लाख र २१ जना घाइते भएकालाई नौ लाख ४५ हजार पाँच सय २६ रुपियाँ उपचार खर्च प्रदान गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । दुई जना मृत्यु भएकालाई २० लाख रुपियाँ भुक्तानी दिन बाँकी रहेको उनले बताए । मृत्यु भएमा १० लाख दिने व्यवस्था भएको र रकम निकास हुन बाँकी रहेकोले भुक्तानी दिन बाँकी रहेको श्रेष्ठले बताए । चितुवा आतङ्क बढ्न थालेपछि डिभिजन वन कार्यालय तनहुँको सक्रियतामा चितुवा नियन्त्रणको लागि पासो थपिएको छ । बाख्रा खान जाँदा चितुवा पासोमा पर्ने हुँदा नियन्त्रणको लागि सहज हुने डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका अनुसार विभिन्न ठाउँमा गरी २० स्थान पासो राखिसकिएको छ । एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः आक्रमण गर्ने सम्भावना रहने हुँदा नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको वन अधिकृत नविन विश्वकर्माले बताए ।

प्रकाशित : 6 May, 2025

प्रतिक्रिया दिनुहोस्