रुसी राजधानीलाई निसाना बनाएर युक्रेनको ड्रोन आक्रमण, मस्कोका विमानस्थल बन्द

काठमाडौं । वैशाख २३, युक्रेनले रुसी राजधानी मस्कोलाई निसाना बनाएर रातभर ड्रोन आक्रमण गरेको छ । मस्कोलाई निसाना साँधेर युक्रनेले लगातार दोस्रो रात ड्रोन आक्रमण गरेको रुसले दाबी गरेको हो ।
युक्रेनले गरेको ड्रोन आक्रमणबारे टेलिग्राममा जानकारी दिँदै रुसको एभिएसन वाचडग रोसावियात्सियाले सुरक्षाको सुनिश्चितताका लागि राजधानीका सबै चार विमानस्थल अस्थायी रूपले बन्द गरिदिएको बताएको छ ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा यसबारे प्रतिक्रिया दिएका छन् । उनका अनुसार कम्तिमा पनि १९ वटा युक्रेनी ड्रोन फरक-फरक दिशाबाट सहरमा पुग्नुअगावै नष्ट भएका थिए ।
उनले नष्ट गरिएका ड्रोनको भग्नावशेष सहर आउने प्रमुख राजमार्गभन्दा केही पर झरेका बताएका छन् । युक्रेनी आक्रमणमा हताहती भए/नभएको भने यकिन विवरण सार्वजनिक भएको छैन ।
उता युक्रेनले भने यसबारेमा टिप्पणी गरेको छैन । तर, युक्रेनको सहर खारकिभका मेयरले रुसले रातभर सहर तथा किएभमा ड्रोन आक्रमण गरेको बताएका छन् ।