एनआरएनएमा महेश श्रेष्ठ नेतृत्वको समूहलाई परराष्ट्रको मान्यता

काठमाडौं । वैशाख २३, डा. शेष घलेको नेतृत्वमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए )को एकता महाधिवेशनपछि परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतमा म्याद थपका लागि आफैंले दिएको निवेदन फिर्ता लिने प्रक्रिया अगाडि बढाएको छ ।
यसै साता सम्पन्न एनआरएनको महाधिवेशनले महेश श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिसकेको छ ।
महाधिवेशन सम्पन्न भइसकेको जनाउँदै मन्त्रालयले यसअघि पेश गरेको निर्देशन कार्यान्वयनको समय थप गर्न गरिएको निवेदन फिर्ता लिने प्रक्रिया अगाडि बढाएको हो ।
मन्त्रालयले यसअघि सर्वोच्चबाट निर्देशनात्मक आदेश भएअनुसार ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्न दिएको समयावधि थप ६ महिना थप्न सर्वोच्च अदालतमा ५ वैशाख २०८२ मा निवेदन दर्ता गरेको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार आजै बसेको मन्त्रीस्तरीय बैठकले निवेदन फिर्ता लिने निर्णय गरेको हो ।
अदालतको परमादेशमा गठित उच्चस्तरीय समितिले एनआरएनएको महाधिवेशन तथा निर्वाचन सम्पन्न गरी नयाँ कार्यसमिति गठन गरिसकेको विवरण वैशाख २२ गते मन्त्रालयमा प्राप्त भएको परराष्ट्रले जनाएको छ ।