थुनामा पठाउने आदेश पाएका पूर्वमेयर शिवाकोटी अझै अस्पतालमै

सहयात्रा टिभी

काठमाडौं । वैशाख २५, जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएका विर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी ५ महिनादेखि अस्पतालमै छन् ।

आफ्नै घरमा घरेलु कामदारका रूपमा राखिएकी किशोरीलाई बलात्कार गरेको आरोपमा २४ मंसिरमा पक्राउ परेदेखि नै शिवाकोटी अस्पतालमा बस्दै आएका थिए ।

‘पीडितले अदालतमा गरेको बयान, उनको स्वास्थ्य परीक्षण प्रतिवेदन, प्रहरी कहाँ परेको जाहेरी दर्खास्त र विभिन्न व्यक्तिहरूको घटना विवरण कागज’ लगायतलाई आधार मान्दै जिल्ला अदालत, झापाले २२ पुस २०८१ मा उनी निर्दोष हुन् भन्न सकिने अवस्था नरहेको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर, अहिलेसम्म एक दिन पनि उनले न हिरासत न थुनामा बस्नु परेको छ । प्रहरीका अनुसार, उनी विर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजको क्याबिनमा बसिरहेका छन् । भेटघाट गर्न जानेका लागि पनि सहज प्रबन्ध रहेको प्रहरी अधिकृतहरू बताउँछन् ।

जिल्ला कारागार झापाका जेलर रेवन्त भट्टराई भने अदालतले समेत स्वास्थ्यलाई कारण देखाउँदै उपचारको प्रबन्ध गर्न आदेश दिएकाले उपचारका लागि पठाइएको बताए ।

पीडित किशोरीको परिवारले भने जबरजस्ती करणी जस्तो गम्भीर मुद्दामा पनि यत्तिका समयसम्म आरोपित अस्पतालमै बसिरहँदा आफूहरूलाई असुरक्षा भएको बताएको छ ।

बुबाआमा नभएका पीडितलाई घरको काम गरिदिने र पढाइदिने शर्तमा शिवाकोटीले घरेलु कामदारका रूपमा राखेका थिए । घरमा रहेका बेला आफूलाई करणी गरेको पीडितको प्रारम्भिक बयान थियो । त्यसपछि इलाका प्रहरी कार्यालय, अनारमनीले उनलाई पक्राउ गरेको थियो ।

शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

 

प्रकाशित : 8 May, 2025

प्रतिक्रिया दिनुहोस्