राजावादीको आन्दोलन निस्तेज पार्नेगरी लाग्न कार्यकर्तालाई प्रचण्डको आग्रह

सहयात्रा टिभी

काठमाडौं । वैशाख २९, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले जेठ १५ गते घोषणा गरेको आन्दोलनलाई निस्तेज पार्नेगरी लाग्न पाटीं पंक्तिलाई आग्रह गरेका छन् ।

 

सोमबार वाईसीएल नेपाल, कर्णाली प्रदेशको पहिलो सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

‘अहिले सबै पूर्वपञ्चहरू मिलेर जेठ १५ देखि आन्दोलन गर्ने भनेर घोषणा गरेका छन् । म विशेष अपिल गर्न चाहन्छु,’ प्रचण्डले भनेका छन्, ‘उनीहरूको त्यो गतिविधिलाई निस्तेज पार्नका लागि हर गाउँमा, हर टोलमा जानुपर्नेछ । उनीहरूको प्रतिक्रान्तिकारी षड्यन्त्रको भण्डाफोर गर्नुपर्नेछ ।’

साथै, उनले वर्तमान सरकार उल्टो दिशामा हिँडेका कारणले जनतामा निराशा देखा परेको र त्यो असन्तुष्टिको दुरुपयोग राजावादीले गरेको आरोप लगाए ।

‘हामीले त्यो अभियान चलाउँदै गर्दा काठमाडौंमा यो सरकारका गतल क्रियाकलाप, उल्टो दिशा हिँडेको कारणले जनतामा निराशा देखा पर्‍यो,’ प्रचण्डले सम्बोधनका क्रममा भनेका छन्, ‘त्यो असन्तुष्टिलाई राजावादीले दुरुपयोग गर्ने कोशिस गरे । समाजवादी मोर्चासमेत भएर प्रहार गर्दा राजावादीको बेलुन फुट्यो । अझै पनि उनीहरू दुस्साहस गर्ने कुचेष्टा गर्दैछन् ।’

उनले राजावादीहरूले लगाएको घुर्कीविरुद्ध देशभरका जनता लाग्नुपर्ने जिकिर गरे ।

 

 

प्रकाशित : 12 May, 2025

प्रतिक्रिया दिनुहोस्