रवि र छविले पेशी बुझ्न इन्कार गरे

सहयात्रा टिभी

काठमाडौं । जेठ ४ , पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा उच्च अदालत पोखरामा पेशीको सुनुवाइ भइरहेको जानकारी दिइएकोमा रवि लामिछाने र छविलाल जोशीले पेशी बुझ्न अस्वीकार गर्दै हस्ताक्षर गर्न इन्कार गरेका छन् ।

रवि र छविका अधिवक्ताले शुक्रबार रविलाई जानकारी नै नदिई पेशी तोकिएको भन्दै सुनुवाइ स्थगित गर्न माग गरेका थिए ।

४ पटकसम्म पेशी सारेर पाँचौं पटक पनि स्थगित गर्न माग गरेकोमा मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले सुनुवाइ अगाडि बढाएको थियो ।

निवेदनउपर अहिलेसम्म रवि, छवि र रामबहादुरको तर्फबाट ३ पटक र सरकारी वकिलको कार्यालयबाट १ पटक पेशी स्थगित भइसकेको छ ।

शुक्रबारको इजलासले रविलाई पेशी छिटो जानकारी गराउन आदेश गर्दै आइतबारका लागि हेर्दाहेर्दैमा राखेको थियो ।

रवि र छविले आइतबार बिहान ११ बजेसम्म पेशीको सुनुवाइ भइरहेको जानकारी पठाएको पत्र नै बुझ्न इन्कार गर्दै हस्ताक्षर गरेनन् । यसपछि उच्च अदालतले कारण पेश गर्न आदेश गरेको छ ।

आदेशमा पेशीको जानकारी पत्रमा हस्ताक्षर नगर्नुको कारणसहित प्रतिवेदनसहित जानकारी गराउन भनिएको छ भने पेशीको जानकारी उनीहरूलाई भएको भए प्रतिवादीले बुझेको भरपाइसहित मिसिलमा राख्न आदेश भएको छ ।

 

प्रकाशित : 18 May, 2025

प्रतिक्रिया दिनुहोस्