ट्रम्पले रक्तपातको अन्त्य खोज्दै पुटिनसँग गरे दुई घन्टा फोन वार्ता

काठमाडौं । जेठ ६ , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको फोन वार्ताका लागि दुई घन्टा समय दिए ।
यो उनका लागि एक विशेष अवसर थियो । उनी चाहन्थे कि आफ्नो टेलिफोन संवादसँगै रूस र युक्रेनबीच तत्काल युद्धविराम लागू भइहाल्नेछ ।
ट्रम्प युक्रेनमा जारी युद्ध अन्त्य गर्न पुटिनको इच्छाशक्ति कति छ भनेर जान्न चाहन्थे । सम्भवतः ट्रम्प केही निरास भएका छन् ।
तर पुटिन टसमस देखिए । ट्रम्पसँगको लामो टेलिफोन वार्तापछि पनि युद्धविरामका कुनै संकेत देखिएका छैनन् ।
ट्रम्पले ओभल अफिसबाट दई घन्टे वार्ता गर्नुअघि सामाजिक सञ्जालमा पूरै ठूलो अक्षरमा लेख्दै यो वार्ताबारे पूर्वघोषणा गरेका थिए ।
ट्रम्पसँग संवाद गर्न पुटिन भने ब्ल्याक सीको तटमा रहेको सोचीको एउटा प्रतिभाशाली बालबालिकाको विद्यालयमा थिए । त्यहाँ उनले विद्यालय भ्रमणको बीचबाटै ट्रम्पसँगको कुराकानीलाई समय दिए।
वार्तालापपछि दुवै नेताले यसलाई फरक–फरक दृष्टिकोणबाट व्याख्या गरे।
ट्रम्पले भने, ‘राष्ट्रपति पुटिनले यो अन्त्य गर्न चाहेका छैनन् भन्ने यदि मलाई लागेको थियो भने म यसको चर्चा नै गर्ने थिइनँ। म त सिधै पछि हट्थेँ। मलाई लाग्छ, अब उनलाई पर्याप्त भएको छ।’
ट्रम्पले सामाजिक सञ्जालमा आशावादी लबजमा लेखे, ‘वार्ता निकै राम्रो भयो’ र रुस–युक्रेन युद्धविरामका लागि ‘तात्कालिक रूपमा वार्ता सुरु’ गर्न सहमत भए, तर पुटिनले आफ्ना अधिकतम मागहरूमै अडिग रहने संकेत गरेका छन् ।
युद्धविराममा कुनै ठोस प्रगति नभए पनि ट्रम्पले ‘सकारात्मक लय र भावना’ भएको भन्दै कुराकानी सफल भएको बताए। उता, पुटिनले वार्तालाई ‘अर्थपूर्ण र स्पष्ट’ भने।
यो वर्षको तेस्रो फोन संवादमा देखिएको फरक धारणा ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा भोगिरहेको कठिनाइलाई झल्काउँछ। ट्रम्पले यस साता युद्धलाई ‘रक्तस्नान’ भनेका थिए।
युक्रेनले भने तात्कालिक ३० दिनको युद्धविराम स्वीकार गरिसकेको छ, तर पुटिनले यसलाई अस्वीकार गरिसकेका छन् । यसले ट्रम्पका सल्लाहकारबीच मस्कोले ट्रम्पलाई केवल झुलाइरहेको त होइन भन्ने शंका उत्पन्न भएको छ ।
यस्तै संकेत ट्रम्प स्वयंले पनि अघिल्लो पटक गरेका थिए।
पुटिनले वार्तालाई ‘अर्थपूर्ण र स्पष्ट’ भने पनि कुनै ठोस प्रगति भने भएन र युद्धविरामको संकेत देखिएको छैन
यद्यपि ट्रम्पले सोमबारको संवादपछि यस्तो आशय व्यक्त गरेनन् । उनले भने, ‘मलाई लाग्छ पुटिन शान्तिका लागि इच्छुक छन्।’
तर सोही दिन उनले भने, ‘ठूला अहंकारहरू सँगै छन्। तर मलाई लाग्छ केही न केही हुन्छ। र यदि भएन भने म पछि हट्छु, अनि उनीहरू आफैंले जुधिरहनुपर्ने हुन्छ।’
यसअघि आफू मात्रले युद्ध सक्ने दाबी गर्दै आएका ट्रम्पले सोमबार भने युद्धविरामका सर्तहरू युक्रेन र रुसबीच मात्र तय हुनुपर्ने बताए।
– सीएनएनबाट