जेठ १५ भित्र पुल नबने ठेकेदारलाई खोलामा गाडिदिने सांसद श्रेष्ठको धम्की

सहयात्रा टिभी

काठमाडौं । जेठ ६ , नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले १५ जेठभित्र पुल निर्माणको काम नसके ठेकेदारलाई नै खोलामा गाडिदिने धम्की दिएका छन् ।

बाराको पर्सौनी र कलैया जोड्ने बंगरी नदीको बञ्जरीया स्थित पुलको मंगलबार निरीक्षण गर्ने क्रममा उनले पुल निर्माणको जिम्मा लिएका दुई ठेकेदारलाई यस्तो धम्की दिएका हुन् ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका र पर्सौनी गाउँपालिकालाई सदरमुकाम जोड्ने महत्त्वपूर्ण मार्गमा रहेको यो पुल १३ वर्षदेखि अलपत्र छ ।

२०७९ सालको निर्वाचमा सांसद श्रेष्ठले पुल बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।  ।एप्रोच नबनेकै कारण पुल सञ्चालनमा आउन नसक्दा त्यस क्षेत्रका सर्वसाधारणहरू आउजाउ गर्न समस्यामा थिए ।

सांसद श्रेष्ठ सडक डिभिजन कार्यालय हेटौंडाका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीसहतिको टोली लिएर मंगलबार अनुगमन गर्न बारा पुगेका थिए ।

सो क्रममा उनले भने, ‘१५ जेठभित्र मलाई फाइनल चाहियो । मैले नत्र खोलामा गाड्छु । प्लिज मैले एकदम भद्र भएर बोल्या छु । आज ६ गते भयो । भोलि बिहान टिप्पर र १० एक्साभेटर ल्याउने । यस्तो पनि हो भन्या के रु’

उनले अगाडि भने, ‘ आज बेलुकासम्म डीजी सा’ब, इन्जिनियर सा’बले यहाँ हेर्नुहुन्छ। आज बेलुकासम्म एउटा एक्साभेटर र दुइटा टिपर देख्नु पर्‍यो । बिहानदेखि काम सुरु गर्नु पर्‍यो ।

अन्तबाट केही गर्नु पर्दैन । ग्याबिन नापेर इन्जिनियर सा’बले भन्नुहुन्छ । ग्याबिन झार्दिने । १५ गते फिलिङ गरेर ढलान गर्ने । दुई जना ठेकेदार सा’ब सुन्नुस् है फेरि, यहाँ डीजी सा’बको अगाडि बोल्या छु । इन्जिनियर सा’ब पनि हुनुहुन्छ । १५ गते मलाई फाइनल चाहियो । मैले नत्र खोलामा गाड्छु ।’

 

प्रकाशित : 20 May, 2025

प्रतिक्रिया दिनुहोस्