नागढुङ्गा–नौबिसे सडकखण्ड मर्मतका लागि जेठ १० देखि २५ गतेसम्म दिउँसो बन्द हुने

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, आगामी जेठ १० गतेदेखि २५ गतेसम्म नागढुङ्गा–नौबिसे सडकखण्ड निर्माण तथा मर्मत कार्यका लागि दैनिक साढे चार घण्टा बन्द गरिने भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, उक्त अवधिमा हरेक दिन बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ। यो निर्णय धादिङ जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सडक निर्माण आयोजनाको प्रस्तावअनुसार गरिएको हो।

यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रात्रिकालीन समयमा मात्र सडक बन्द गरी काम गरिएको थियो। तर, आयोजनाले राति भत्काउने काम सम्पन्न भए पनि पिच लगायतका प्राविधिक निर्माण कार्य दिउँसोको समयमा नै गर्नुपर्ने आवश्यकता औंल्याएपछि दिउँसो पनि सडक बन्द गर्ने निर्णय लिइएको हो। हाल उक्त सडकखण्डमा मोड सुधार गर्ने, सडक फराकिलो बनाउने तथा पिच गर्ने कार्य तीव्र गतिमा भइरहेको छ।

सडक बन्द रहने समयमा काठमाडौंबाट बाहिरिने सवारीसाधनहरूलाई नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौं प्रवेश गर्ने सवारीसाधनहरूलाई खानीखोलामा नै रोकिनेछ। स्थानीय प्रशासनले यात्रुहरूलाई यस अवधिमा वैकल्पिक मार्गका रूपमा धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ।

प्रकाशित : 21 May, 2025

प्रतिक्रिया दिनुहोस्