कोशी प्रकृतिको अनुपम उपहार हो, यहाँ घुम्न आउने मनमोहक हुन्छन् : कृष्ण शाह

काठमाडौं । जेठ १०, कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक कृष्णकुमार शाहले आफू कोशी प्रदेशमा जन्मिएकोमा गर्व लाग्ने बताएका छन् । अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्रावल मार्टको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा शाहले कोशी प्राकृतिक सुन्दरताको अनुपम क्षेत्र भएको बताए ।
‘म कहिलेकाहीँ कोशी प्रदेशमा जन्मिएकोमा गर्व गर्छु । किनभने म सुन्दर कोशीमा जन्मिएको हुँ । प्रदेश राजधानी विराटनगरबाट सगरमाथासम्मै सांस्कृतिक र प्राकृतिक विविधता छन्,’ उनले भने ।
कोशी प्रदेशको भ्रमण गर्ने पर्यटकले अर्नाको राजधानी भनेर चिनिने कोशी टप्पु वन्यजन्तु आरक्षलगायतका निकुञ्जमा वन्यजन्तु अवलोकन गर्न सक्ने उनले बताए।
मार्टमा सहभागी विभिन्न देशका पाहुनालाई कोशी भ्रमणको निम्ता गर्दै शाहले भने, ‘संसारको शीर सगरमाथा लगायत संसारका १४ सर्वोच्च शिखरमध्ये पाँचवटा कोशी प्रदेशमा छन्। त्यहाँको पर्वतीय पर्यटन संसारकै सबैभन्दा एड्भेञ्चरस् र उत्कृष्ट शिखर पर्यटन हो ।’
उनले कोशी प्रदेश अन्यको तुलनामा सहज यातायात पहुँच भएको प्रदेश भएको दाबी गरे । उनले भने, ‘कोशी प्रदेशमा विराटनगर, फाप्लु, लुक्ला, सुकेटार लगायत एयरपोर्ट छन् । विभिन्न राजमार्गमार्फत पर्यटकले सबै पहाडी जिल्लाको सहज भ्रमण गर्न पाउँछन् ।’
शाहले कोशी प्रदेश सांस्कृतिक विविधताका दृष्टिले समेत नेपालको समृद्धतम् प्रदेश भएको जिकिर गरे । उनले भने, ‘सम्भवत: संस्कृतिमा नेपालकै सबैभन्दा धनी प्रदेश हो कोशी । यहाँ लिम्बू, राई, शेर्पा, तामाङ, राजवंशी, कोच आदि संस्कृति छन्- जसले सांस्कृतिक विविधताको इन्द्रेणी छ । यी संस्कृतिले जगेर्ना गरिरहेका माैलिक नाँचहरू साकेला, धान नाँचलगायत जातजातिका नाँचले हामी समृद्ध छौं ।’
उनले रामको विवाहको प्रसङ्ग पनि कोट्याए । रामधुनीको सांस्कृतिक महत्व दर्शाउँदै मर्यादा पुरुषोत्तम श्रीरामको जन्ती रामधुनीस्थित ऋषि विश्वमित्रको आश्रमबाट लगिएको दाबी गरे । ‘रामधुनीबाट रामको जन्ती लगिएको थियो र आगामी दिनमा रामधुनीबाट जन्ती लैजानुपर्छ भन्ने हाम्रो मान्यता छ,’ उनले भने ।
संसारको पहिलो तीर्थ बराहक्षेत्र पनि कोशी प्रदेशमै रहेकाले कोशी प्रदेशको पर्यटन सबै कोणबाट समृद्ध रहेको र अन्तर्राष्ट्रिय बजारमा पुर्याउन जरुरी रहेको बताए ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सचिवालय अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्रावल मार्टको डेस्टिनेसन प्रायोजक समेत हो। मार्टमा कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सचिवालयले तयार पारेको डकुमेन्ट्री, मुकाम म्यागेजिन र तीनवटा करिडोरको गन्तव्यका बारेमा तयार पारिएका अङ्ग्रेजी र नेपाली दुवै भाषाका प्रचारसामग्री प्रदर्शन र वितरण गरिएको थियो ।