नेपालमा मनसुन चाँडै भित्रिने सङ्केत, भारतमा एक हप्ता अगावै प्रवेश

सहयात्रा टिभी

काठमाडौं । जेठ ११, भारतमा यस वर्ष मनसुन सरदर समयभन्दा एक हप्ता अगाडि नै प्रवेश गरेकाले नेपालमा पनि मनसुन चाँडै भित्रिन सक्ने मौसमविद्हरूले अनुमान गरेका छन्। सामान्यतया भारतको केरलामा जुन १ मा र नेपालमा जुन १३ मा मनसुन भित्रिने गर्दछ। तर, यस वर्ष भारतको केरलामा मे २४ (जेठ १०) मै मनसुन भित्रिएको छ।

जल तथा मौसम विज्ञान विभाग स्रोतले यस वर्ष नेपालमा पनि मनसुन छिट्टै भित्रिने सम्भावना रहेको बताएको छ। भारतीय मौसम विभागले मनसुन केरलामा प्रवेश गरिसकेको र राजधानी नयाँदिल्लीसहित विभिन्न ठाउँमा भारी वर्षा भएको पुष्टि गरेको छ। मे २४ देखि २६ सम्म भारी वर्षाको पूर्वानुमान गर्दै सतर्कता अपनाउन पनि आग्रह गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो भारतमा १६ वर्षयताकै सबैभन्दा छिटो मनसुन आगमन हो। वर्षाले गर्मीबाट राहत दिए पनि हावाहुरीसहितको वर्षाले यातायात सेवा भने प्रभावित भएको छ।

वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार सामान्यतया भारतमा मनसुन भित्रिएको १० देखि १५ दिनभित्र नेपालमा मनसुन प्रवेश गर्दछ। “अहिले जलवाष्पयुक्त हावाको जुन खालको चाल देखिएको छ, त्यसले यसपालि मनसुन नेपाल भित्रिन ढिलो नहुन सक्छ,” उनले भने। यद्यपि, भारतको केरलामा भित्रिएको मनसुनलाई निरन्तर “वाच” गरिरहेको र नेपालमा कुन दिन भित्रिन्छ भनेर अहिले नै यकिन गर्न नसकिने अर्यालले स्पष्ट पारे।

बंगालको खाडी हुँदै नेपाल प्रवेश गर्ने मनसुनी वायुले पश्चिमी वायुलाई विस्थापित गरेपछि मात्र मनसुन सक्रिय हुन्छ। हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि रहेको छ। यसैको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा केही दिनयता दैनिकजसो वर्षा भइरहेको छ। आज पनि केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको अर्यालले जानकारी दिए।

नेपालमा सामान्यतया मनसुन जुन १३ मा भित्रिएर अक्टोबर २ मा बाहिरिने गर्दछ, जसअनुसार मनसुन अवधि करिब ११२ दिनको हुन्छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा नेपालमा वर्षा र गर्मी दुवै औसतभन्दा बढी हुने आँकलन गरेको छ। बढी वर्षाले जनधनको क्षति हुने जोखिम पनि बढ्ने भएकाले पूर्वसतर्कता अपनाउन विभागले सबैमा आग्रह गरेको छ।

प्रकाशित : 25 May, 2025

प्रतिक्रिया दिनुहोस्