कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । जेठ ११, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूको बैठक बोलाएका छन् । बैठक सोमबार बिहान ९ बजे उनकै निवास बुढानीलकण्ठमा बस्ने तय भएको छ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, सभापति देउवाले विशेषगरी क्रियाशील सदस्यताका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।
महामन्त्री गगन थापा, जो सदस्यता व्यवस्थापन समितिका संयोजक पनि छन्, उनले बैठकमा क्रियाशील सदस्यता नवीकरणको हालसम्मको प्रगतिबारे जानकारी गराउने बताइएको छ। पौडेलले भने, “महामन्त्रीज्यूले क्रियाशील सदस्यता नवीकरणको अहिलेसम्म भएका कामहरूको ब्रिफिङ गर्नुहुनेछ।” कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समयसीमा तोकेको छ।
मुख्य सचिव पौडेलले क्रियाशील सदस्यताका अतिरिक्त समसामयिक राजनीतिक घटनाक्रमबारे पनि पदाधिकारी बैठकमा छलफल हुने जानकारी दिए। विशेषगरी, हालै गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेको र उक्त प्रकरणमा गृहमन्त्रीको सचिवालयसमेत मुछिएको भन्दै मन्त्रीको राजीनामा माग भइरहेको विषयमा पनि बैठकमा छलफल हुनेछ।