सहमतिपछि पनि यातायात व्यवसायीको हडताल जारी, आज पनि उपत्यकाका सडक सुनसान

काठमाडौं । जेठ २०, काठमाडौं उपत्यकामा मंगलबार पनि सार्वजनिक यातायातका साधनहरू नचल्दा सडकहरू प्रायः सुनसान देखिएका छन्। जसका कारण दैनिक कामकाज र अत्यावश्यक यात्रामा निस्कने सर्वसाधारणहरूले कठिनाइ भोग्नुपरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता दीपक गिरीका अनुसार सोमबारको तुलनामा मंगलबार केही संख्यामा गाडीहरू सञ्चालनमा आएका छन्। “हिजोको भन्दा आज केही गाडीहरू चलेका छन्। विशेषगरी मयुर यातायात, थानकोटतर्फ जाने फोर्स गाडीहरू र केही भाडाका ट्याक्सीहरू फाट्टफुट्ट रूपमा चलेको देखिन्छ,” उनले भने ।
यसैगरी, साझा यातायातका बसहरू पनि मंगलबार सडकमा गुडेका छन् । यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै साझा यातायात र प्रहरीले संयुक्त रूपमा काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा समेत सञ्चालन गरेका छन्।
सोमबार मध्यरातमा संघीय सरकार र यातायात व्यवसायी महासंघबीच ‘राइड सेयरिङ’ सम्बन्धी नियमावली हाललाई स्थगित गर्न गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्ने सहमति भएको थियो । यद्यपि, उक्त सहमति भए तापनि यातायात व्यवसायीहरूले मंगलबार सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याएनन्, जसले गर्दा आम नागरिकले सास्ती खेप्नुपरेको हो।