प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बस्दै, निजामती विधेयक पेस हुने

काठमाडौं । जेठ २३, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले निरन्तर संसद अवरुद्ध गरिरहेको गतिरोधका बीच आज पनि संघीय संसदका दुवै सदनको बैठक बस्दैछ । विपक्षीको अवरोधका बाबजुद सरकारले आजदेखि बजेटमाथिको छलफल अघि बढाउने तयारी गरेको छ ।
संघीय संसद सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभाको कार्यसूची के छ ?
आजको प्रतिनिधिसभा बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्ने महत्त्वपूर्ण कार्यसूची तय गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव पेस गर्नेछन् । विपक्षी दलहरूले सदन चल्न दिएमा उक्त प्रस्तावमाथि छलफल सुरु हुनेछ ।
यसका साथै, आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले लामो समयदेखि प्रतिक्षित ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएकाले आजको बैठक पनि सहजै सञ्चालन हुन सक्नेमा भने आशंका कायमै छ । सरकार र विपक्षी दलहरूबीच सहमति नजुटेसम्म संसदीय प्रक्रिया अघि बढ्न चुनौतीपूर्ण देखिन्छ ।
यता, राष्ट्रियसभाको बैठकमा पनि आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलले निरन्तरता पाउनेछ ।