जितको ह्याट्रिक गर्ने लक्ष्यमा नेपाल, आज स्कटल्याण्डसँग भिड्दै

काठमाडौं । जेठ २५, आईसीसी विश्वकप लिग २ मा उत्कृष्ट लयमा रहेको नेपाली क्रिकेट टोलीले आज आफ्नो तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्डको सामना गर्दैछ। लगातार दुई रोमाञ्चक जितसँगै आत्मविश्वासले भरिएको नेपाल आजको खेलमा पनि जित निकाल्दै शृंखलामा ‘ह्याट्रिक’ गर्ने लक्ष्यमा हुनेछ।
डुन्डीमा नेपाली समयअनुसार अपरान्ह पौने ४ बजे सुरु हुने यो खेलमा नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ। यसै शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई नै कीर्तिमानी जितका साथ स्तब्ध पारेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो।
नेपालको यो आत्मविश्वासको पछाडि पछिल्लो समय स्कटल्याण्डमाथिको दबदबा पनि एक प्रमुख कारण हो। सन् २०२३ देखि स्कटल्याण्डसँग भएका ५ खेलमा नेपाल अपराजित छ, जसमा ४ जित र १ नतिजाविहीन खेल सामेल छन्। सन् २०२२ को डिसेम्बरयता स्कटल्याण्डले नेपाललाई हराउन सकेको छैन।
यो शृंखलामा दुई जित निकालेपछि १४ खेलबाट १० अंक जोडेको नेपाल अंक तालिकाको सातौं स्थानमा छ र आफ्नो स्थिति अझ सुधार्न आजको जित महत्वपूर्ण हुनेछ।