देशका अधिकांश भागमा मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको चेतावनी

सहयात्रा टिभी

काठमाडौं । असार ३, अवश्य, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशका पूर्वी तथा मध्य क्षेत्रमा मनसुनी वायुको प्रभाव छ भने पश्चिमी भूभागमा स्थानीय र पश्चिमी वायुको आंशिक असर देखिएको छ। यस मिश्रित मौसमी प्रणालीका कारण देशभरको मौसममा बदली आएको छ।

महाशाखाले आज दिउँसो देशभरको मौसम सामान्यतया बदली रहने जनाएको छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। यसैगरी, उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। अन्य प्रदेशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ।

महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, सडक तथा हवाई यातायातमा पनि सामान्य अवरोध आउन सक्नेतर्फ सचेत गराएको छ।

प्रकाशित : 17 June, 2025

प्रतिक्रिया दिनुहोस्