खामेनीलाई आत्मसमर्पण गर्न ट्रम्पको सुझाव, इजरायलसँग सम्झौता नर्गने इरानको जवाफ

काठमाडौं । असार ४, मध्यपूर्वमा इरान र इजरायलबीच युद्धको तनाव उत्कर्षमा पुगेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खामेनीलाई “बिना सर्त आत्मसमर्पण” गर्न सुझाव दिएका छन्। ट्रम्पले खामेनीको ज्यान तत्कालका लागि सुरक्षित रहेको भन्दै थप क्षतिबाट बच्न यो नै सबैभन्दा सजिलो र उत्तम विकल्प भएको बताएका हुन्।
उनको यो टिप्पणी यस्तो समयमा आएको हो, जतिबेला इजरायलले इरानको इस्फाहानलगायत तीनवटा आणविक केन्द्र र ब्यालिस्टिक मिसाइल प्रक्षेपण स्थलमा आक्रमण गरेको दाबी गरिरहेको छ। इरानले इजरायलका तेल अभिभ र हाइफा सहरलाई खाली गर्न चेतावनी दिएपछि सुरु भएको तनाव राजधानी तेहरानमा भएका विस्फोटहरूसँगै थप गहिरिएको छ । जसका कारण सर्वसाधारणमा त्रास फैलिएको बताइएको छ।
यो द्वन्द्व र पूर्वराष्ट्रपति ट्रम्पको अप्रत्याशित भनाइले विश्वका नेताहरूलाई समेत अमेरिकी नीतिको आगामी बाटोबारे अनुमान गर्न बाध्य बनाएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई इजरायलसँग बिनाशर्त आत्मसमर्पण गर्न दिएको सुझावको तेहरानले कडा प्रतिवाद गरेको छ। इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले इजरायलविरुद्ध कुनै हालतमा सम्झौता नहुने घोषणा गर्दै कडा जवाफ फर्काएका हुन्।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत राष्ट्रपति ट्रम्पको टिप्पणीमाथि प्रतिक्रिया दिँदै खामेनीले लेखेका छन्, “युद्ध सुरु भइसकेको छ। इजरायलसँग सम्झौता हुनसक्दैन।” उनले अर्को पोस्टमा इजरायललाई “आतंकवादी शासन” को संज्ञा दिँदै त्यस्तो शासनलाई कुनै पनि हालतमा दया नदेखाइने चेतावनी दिएका छन्।