बागमतीमा व्यक्तिको नाम र घरै तोकेर ८२/८३ को बजेट बिनियोजन

सहयात्रा टिभी

काठमाडौं । असार ४, बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा व्यक्तिको नाम र घरै तोकेर बजेट बिनियोजन गरेको पाइएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले १ असारमा प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको योजनामा व्यक्तिको नाम र घर तोकेर रकम बिनियोजन गरिएको हो । योजनामा ‘फलानोको घरदेखि फलानोको घरसम्म’ भनेर करोडौं रुपैयाँ विनियोजन गरिएको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएको छ । जसमा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई २४ अर्ब ८० करोड १९ लाख बिनियोजन भएको छ ।

भौतिक सहितका १२ वटा मन्त्रालयलाई ५४ अर्ब ४१ करोड ८० लाख रुपैयाँ बजेट दिइएको थियो भने १३ अर्ब ५ करोड ९३ लाख रुपैयाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय लगायतका निकायलाई बिनियोजन भएको छ ।

सरकारले चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार बजेट प्रस्तुत गर्दा विकास बजेट अर्थात् पूँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार बिनियोजन गरेको छ । सरकारले ल्याएका विकासका योजनामा भने गम्भीर त्रुटि भेटिएका छन् ।

विकासे अड्डा भनिने भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका पूर्वाधार विकास कार्यालयहरूबाट कार्यान्वयन हुने योजनामा निश्चित व्यक्तिको नाम र ठेगाना उल्लेख छ ।

चितवनको भरतपुरदेखि माडी, कालिका, खैरहनी, रत्ननगरसम्मका दर्जनौं योजनामा व्यक्तिको नाम, घरको विवरण सहितका योजना छन् ।

चितवन मात्र नभई ललितपुर, काभ्रेपलाञ्चोकका पूर्वाधार विकास कार्यालयबाट कार्यान्वयन हुने योजनामा पनि त्यस्तै प्रकृतिका छन् ।

यस्तै, शहरी विकास तथा भवन कायालय, काठमाडौंको योजनामा पनि व्यक्तिको नाम तोकेर बजेट बिनियोजन भएको पाइएको छ ।

 

 

प्रकाशित : 18 June, 2025

प्रतिक्रिया दिनुहोस्