पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने

सहयात्रा टिभी

काठमाडौं । असार १२, पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री, राष्ट्रिय योजना आयोग उपाध्यक्ष, पाल्पा जिल्लाका जनप्रतिनिधि, पुरातत्व विभाग महानिर्देशक, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, इन्जिनियर लगायतको बैठकले खड्ग शम्शेरले निर्माण गरेको रानीमहलको स्वरूपमा ल्याएर संरक्षण गर्ने र त्यसका लागि गुरुयोजना बनाएर काम अघि बढाउने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रानीमहल दुर्लभमध्येको एक महत्त्वपूर्ण ठाउँ रहेको उल्लेख गर्दै पुरानो शैली र आकारसँग सम्बन्धित सामग्री संकलन गरी अध्ययन गर्न, गुरुयोजना बनाउन र सोही अनुसार कार्यान्वयन विधि तयार पार्न पुरातत्व विभागलाई निर्देशन दिए ।

उनले ऐतिहासिक र पुरातात्विक महत्त्वलाई विशेष ध्यान दिएर नदी तथा पहिरो व्यवस्थापन र निर्माणका अरू कार्य अघि बढाउन जोड दिए ।

योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले दीर्घकालीन व्यवस्थित योजनासाथ रानीमहल र त्यस वरपरका क्षेत्रलाई संरक्षण गर्नुपर्ने बताए ।

प्रतिनिधिसभा सांसद ठाकुर गैरेले कालीगण्डकी नदीले रानीमहलको जग कटान गर्नबाट जोगाउन विशेष ध्यान दिनुपर्ने बताए ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले पुरातत्व विभागले रानीमहलको पुरातात्विक र ऐतिहासिक महत्त्व जोगाएर पुनर्निर्माण गर्न सक्ने बताए ।

अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले रानीमहल संरक्षणका लागि स्रोत अभाव नहुने जानकारी दिए ।

 

प्रकाशित : 26 June, 2025

प्रतिक्रिया दिनुहोस्