सिरहामा एक पुरुषको शव भेटियो, हत्याको आशंका

काठमाडौं । असार १४, सिरहाको अर्नमा गाउँपालिकामा एक युवकको शव शंकास्पद अवस्थामा फेला परेको छ । प्रहरीले हत्या भएको आशंका गरेको छ।
अर्नमा गाउँपालिका–१, बुदियाचाप निवासी ४३ वर्षीय अजय महरा आज बिहान आफ्नै घर नजिकै मृत अवस्थामा भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता, डीएसपी वीरेन्द्रकुमार पासमानका अनुसार, स्थानीय मुलिफ अलि मन्सुरको आँपको रुखमुनि घाँटीमा गम्छा बेरिएर लडिरहेको अवस्थामा महराको शव भेटिएको थियो।
बिहान शव देखेपछि स्थानीय बासिन्दाले तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना पाउनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ। डीएसपी पासमानले भने, “घटनास्थलको प्रकृति र मृतकको अवस्था हेर्दा यो हत्या जस्तो देखिन्छ। हामीले यही कोणबाट अनुसन्धानलाई तीव्र बनाएका छौं।”
मृतक स्थानीय रामसेवक महराका छोरा हुन्।