सुनसरीमा मोटरसाइकल दुर्घटना : बाबु-छोरासहित तीनको मृत्यु

काठमाडौं । असार १५, सुनसरीको रामधुनी नगरपालिकामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा बाबु-छोरासहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, रामधुनी नगरपालिका–७ स्थित चतरा–कान्छी चोक भित्री सडक खण्डमा विपरीत दिशाबाट आउँदै गरेका प्रदेश १–०२–०५६ प ५८६४ र को३३प ९६०५ नम्बरका मोटरसाइकल शनिबार साँझ करिब साढे ७ बजे ठोक्किएका थिए।
दुर्घटनामा परी प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकलका चालक रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी र उनका ९ वर्षीय छोरा प्रनिष चौधरीको मृत्यु भएको छ। त्यसैगरी, को३३प ९६०५ नम्बरको मोटरसाइकलका चालक इनरुवा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय विन्दु यादवको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको उपचारका क्रममा शनिबार राति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
सोही दुर्घटनामा परी मृतक इनर्चनकी श्रीमती ३२ वर्षीया प्रतीक्षा चौधरी र इनरुवा–७ का अन्दाजी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन्। उनीहरुको पनि बीपी प्रतिष्ठानमै उपचार भइरहेको छ।
सुनसरी प्रहरीका प्रवक्ता, डीएसपी योगराज खतिवडाले दुवै मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए।