सुदूरपश्चिममा अविरल वर्षा: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । असार १६, आइतबार बिहानदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुरा लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ। लगातारको वर्षाले तराईका भूभागमा डुबान तथा पहाडी क्षेत्रमा पहिरोको खतरा बढाएको छ।
विशेषगरी कैलालीको धनगढी र गोदावरी क्षेत्रमा भएको मुसलधारे वर्षाले मोहना नदीमा बाढीको जोखिम ह्वात्तै बढाएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार, भारी वर्षाका कारण नदीको जलस्तर खतराको तहमा पुगेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, आइतबार बिहान ७:३० बजे मोहना नदीको जलस्तर ३.०६ मिटर मापन गरिएको छ, जुन सतर्कता तहभन्दा माथि हो। विभागले नदी तटीय क्षेत्रका बासिन्दालाई सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जोखिममा रहेका स्थानीय बासिन्दालाई एसएमएसमार्फत समेत सूचना पठाई सचेत गराइएको छ।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु सक्रिय रहेकाले आज सुदूरपश्चिमका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। प्रदेशका केही स्थानमा भने भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेकाले नदीको जलस्तर अझै बढ्न सक्ने भन्दै सतर्क रहन भनिएको छ।