आज यी स्थानमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । असार २१, देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले वर्षाको सम्भावना बढेको हो ।
महाशाखाले जारी गरेको पूर्वानुमानअनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेषगरी, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति भने मौसम थप सक्रिय हुने देखिएको छ । राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । यीमध्ये कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भारी वर्षाको सम्भावनासँगै महाशाखाले उच्च सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ । वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्नेछ । सहरी तथा तराईका क्षेत्रहरूमा डुबान हुन सक्ने र नदीनाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने चेतावनी दिइएको छ । यसले दैनिक जनजीवन, कृषि, यातायात तथा पर्यटकीय क्षेत्रमा समेत प्रभाव पार्न सक्ने भएकाले आवश्यक पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरिएको छ ।