विभिन्न जिल्लामा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । असार २२, बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न सानाठूला नदीहरूको जलस्तर उल्लेख्य रूपमा बढ्न सक्ने चेतावनी दिएको छ। मनसुनी वर्षा सक्रिय रहँदा नदीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
महाशाखाका अनुसार, आज विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूमा आकस्मिक बाढीको जोखिम उच्च छ। कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, जाजरकोट र दैलेख जिल्ला भएर बग्ने साना नदीहरूमा पानीको बहाव ह्वात्तै बढेर आकस्मिक बाढीको ‘मध्यम’ जोखिम उच्च रहेको जनाइएको छ।
यसैगरी, बागमती र गण्डकी प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं उपत्यकाका तीनै जिल्ला, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत र पाल्पामा पनि साना नदीको बहाव बढ्ने अनुमान छ। यी जिल्लाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ।
यद्यपि, आइतबार बिहानसम्मको मापनमा कोसी, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई जस्ता ठूला नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै सुरक्षित अवस्थामा रहेको महाशाखाले स्पष्ट पारेको छ।