संघ सरकारबाट पनि बाहिरियो नाउपा, राज्यमन्त्री चौधरीले राजीनामा दिँदै

सहयात्रा टिभी

काठमाडौं । असार २२, नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केपी शर्मा ओली नेतृत्वको सङ्घीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गरेको हो।

यो निर्णयसँगै सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका नाउपाका अरुण चौधरीले पदबाट राजीनामा दिने तयारी गरेका छन्। उनले आफ्नो राजीनामा पत्र तयार भइसकेको र पार्टी संरक्षक रेशम चौधरी तथा अध्यक्ष रन्जिता श्रेष्ठको निर्देशन पाउनासाथ प्रधानमन्त्रीसमक्ष बुझाउने जानकारी दिए।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नाउपाबाट मन्त्री बनेका रामेश्वर चौधरीलाई बिहीबार बर्खास्त गरेपछि नाउपाले यो कदम चालेको हो। आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री चौधरीलाई बर्खास्त गरिएपछि नाउपाले सङ्घ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने घोषणा गरेको थियो।

सोही घोषणाअनुसार नाउपाले शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको थियो भने शनिबार सङ्घीय सरकारबाट बाहिरिने निर्णय गरेको हो।

पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिइएको पुष्टि गर्दै अब आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताइन्। “समर्थन फिर्ता लिएको विषय आज औपचारिक रूपमा संसद् सचिवालयमा दर्ता हुन्छ र भोलिको प्रतिनिधि सभा बैठकमा हामी प्रतिपक्षमा बस्छौँ,” उनले भनिन्।

यद्यपि, लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थनबारे भने पार्टीले अझै कुनै निर्णय गरेको छैन। सङ्घ र सुदूरपश्चिम प्रदेशमा नाउपाले समर्थन फिर्ता लिए पनि तत्काल सरकारको स्थायित्वमा भने कुनै असर पर्ने देखिँदैन।

प्रकाशित : 6 July, 2025

प्रतिक्रिया दिनुहोस्