बजेट विवादमा उपप्रमुख डंगोलको आह्वान: संयमित भएर बजेट प्रक्रियामा सहभागी हौँ

काठमाडौं । असार २३, काठमाडौं महानगरपालिकामा बजेट ल्याउने विषयमा विवाद बढ्दै जाँदा उपप्रमुख सुनिता डंगोलले सबै पक्षलाई संयमित हुन अपिल गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले संविधान र कानूनको परिधिभित्र रहेर, खुला छलफलमार्फत बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई आग्रह गरेकी हुन् ।
उनले मेयर बालेन शाहलाई बजेट ल्याउने वातावरण बनाउन आग्रह गरेको बताउँदै उनले लेखेकी छन्, “डुंगा प्वाल पारेर अरूलाई खसाल्ने र आफू मात्रै बाँच्ने दुर्भाग्यको बाटो नखोजौँ ।”
कानूनी व्यवस्था अनुसार असार १० गते नै बजेट प्रस्तुत गर्नुपर्ने र मसान्तभित्र पारित गरिसक्नुपर्ने बाध्यता भए पनि बजेट तर्जुमा समितिजस्ता महत्त्वपूर्ण बैठक बस्न नसकेकोमा उनले चिन्ता व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृतलाई दोष देखाएर बजेट प्रक्रिया रोक्नु अनुचित भएको बताउँदै डंगोलले भनेकी छन्, “यदि अधिकृत दोषी छन् भने कानुनअनुसार कारबाही हुनुपर्छ, तर उनको अनुपस्थितिमा बैठक राख्नु र जनप्रतिनिधिलाई प्रश्न गर्ने अवसरबाट वञ्चित गराउनु पनि कानुनी रूपमा गलत छ ।”
उपप्रमुख डंगोलले आफूले सधैँ ‘सहकार्य, सहमति र सहअस्तित्व’ को सिद्धान्तलाई आत्मसात् गरेको र मेयर तथा अन्य जनप्रतिनिधिसँगको अनौपचारिक छलफलबाट सकारात्मक सङ्केत पाएको समेत उल्लेख गरेकी छन् ।