भोटेकोशी बाढी हिमताल फुटेर आएको हुन सक्ने आशंका

काठमाडौं । असार २५, रसुवाको भोटेकोशी नदीमा आएको बाढी अत्यधिक वर्षाका कारण नभई कुनै हिमताल फुटेर आएको हुन सक्ने विज्ञहरूले आशंका गरेका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र जल तथा मौसम विज्ञान विभागले प्रारम्भिक अनुसन्धानपछि यस्तो अनुमान गरेका हुन् ।
सोमबार भोटेकोशीमा अप्रत्याशित रूपमा बाढी आएको थियो । इसिमोडले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र चीनतर्फको सम्बन्धित क्षेत्रमा ठूलो वर्षा नभएकोले बाढीको कारण हिमताल विष्फोटन हुन सक्ने प्रबल सम्भावना रहेको बताएको छ ।
विज्ञप्तिमा बाढीको वास्तविक कारण पहिचान गर्न अझै समय लाग्ने उल्लेख छ । इसिमोडका अनुसार, मौसम सफा भएर बादल हटेपछि मात्रै उपग्रह चित्रहरूको विश्लेषणमार्फत थप अनुसन्धान गर्न सकिनेछ । बाढीको कारणबारे विस्तृत र तथ्यपरक अध्ययनका लागि भूगर्भविद्, हिमनदी विशेषज्ञ र जलवायुविज्ञहरू सम्मिलित एक बहुक्षेत्रीय टोली आवश्यक पर्नेमा जोड दिइएको छ ।