पूर्वउपरथी शाहीले सर्वोच्चमा दिएको निवेदन फिर्ता लिए

सहयात्रा टिभी

काठमाडौं । असार २५, प्रभुराम शर्मा प्रधानसेनापति भएका बेला बर्खास्त गर्न भन्दै सैनिक अदालतले गरेको आदेशविरुद्ध सर्वोच्च अदालत गएका पूर्वउपरथी प्रेम शाहीले निवेदन फिर्ता लिएका छन् ।

पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापानिकट रहेका शाहीले शर्माको पालामा आफूलाई बदनियतपूर्वक कारबाही गरिएको जिकिर गर्दै आएका थिए । तर, शर्माले अवकाश पाएर अशोक सिग्देल नेतृत्वमा आएपछि उनले आफैं निवेदन फिर्ता लिएका हुन् ।

रिट फिर्ता गर्न उनले केही साताअघि निवेदन दिएका थिए । बुधबार अदालतका न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले उनको माग अनुसार निवेदन फिर्ता हुने आदेश समेत गरेको छ ।

थापासँगै तत्कालीन सैनिक नेतृत्वले प्रमुख सेनानी कुलदिप तिम्सिना र महासेनानी महेन्द्रजंग शाहलाई समेत कारबाहीको दायरामा ल्याएको थियो । तिम्सिना र शाह पक्राउ पर्नेवित्तिकै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट पर्‍यो र उनीहरु थुनामुक्त भएका थिए ।

पछि शाहीलाई सैनिक अदालतले दोषी ठहर गर्दै बर्खास्त र जरिवानाको समेत आदेश सुनाएको थियो ।

उपरथी शाहीसहित तिनै जना अधिकृत पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा निकट अधिकृतका रुपमा चिनिन्थे । त्यसबेला शाहीले प्रभुराम शर्माविरुद्ध गतिविधि गरेको आरोप सैनिक नेतृत्वले लगाउने गरेको थियो ।

शाहीलाई सेनाले ४ पुस २०७९ मा ५८ वर्षे उमेर हदका कारण २० पुसदेखि अवकाश हुने भन्दै पत्र थमाएको थियो । तर, उनले आफ्नो जन्ममिति गलत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिए ।

उनले सेनामा प्रवेश गर्नुअघि जारी भएको प्रमाण पत्रमा आफ्नो जन्ममिति २०२३ रहेको उल्लेख गर्दै अदालतमा निवेदन दिएका थिए । सेनाले शैक्षिक प्रमाण पत्रमा भएको मिति अनुसार अवकाशको पत्र थमाएको थियो ।

आफूले एसएलसी परीक्षा दिएको बूढानिलकण्ठ स्कुलले समेत उमेर सच्चाउँदै पत्र पठाइसकेको भन्दै उनले अदालतमा निवेदन दिएका थिए । सेनाको आन्तरिक समितिले पनि उनको जन्ममितिमा त्रुटि भएको भन्दै नागरिकता अनुसारको जन्ममिति कायम गर्न सिफारिस गरेको थियो ।

तर तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले त्यसलाई सदर गरेको थिएन । अन्याय भएको भन्दै उनी अदालत पुगेका थिए ।

प्रकाशित : 9 July, 2025

प्रतिक्रिया दिनुहोस्