एयर इन्डिया दुर्घटनाको छानबिन रिपोर्ट : फ्युल कन्ट्रोल स्विच बन्द भएको थियो

काठमाडौं । असार २८, २६० जनाको ज्यान जाने गरी भएको एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान रिपोर्टले एक सनसनीपूर्ण तथ्य बाहिर ल्याएको छ। रिपोर्टअनुसार, दुर्घटनाको समयमा विमान को-पाइलटले चलाइरहेका थिए र उनले नै इन्जिनको ‘फ्युल कन्ट्रोल स्विच’ लाई ‘कट अफ’ पोजिसनमा सारेको देखिन्छ। यो अनुमान ककपिटमा रेकर्ड भएको स्वरको अंशबाट गरिएको हो।
ककपिट भ्वाइस रेकर्डरमा “किन कट अफ गरेको ?” भन्ने प्रश्न रेकर्ड भएको छ, जसले विमानको नियन्त्रणमा नरहेका मूल क्याप्टेनले को-पाइलटको कार्यप्रति आश्चर्य व्यक्त गरेको संकेत गर्छ। तर यसरी प्रश्न गर्नेको आवाज कसको हो भन्ने स्पष्ट हुन नसकेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।
१५ पृष्ठ लामो प्रारम्भिक रिपोर्टले घटनाक्रमलाई विस्तृत रूपमा उल्लेख गरेको छ। विमानले उडानका लागि पूर्ण गति लिएपछि एक सेकेन्डको अन्तरालमा इन्जिन १ र इन्जिन २ दुवैको स्विच ‘रन’ बाट ‘कट अफ’ पोजिसनमा सारिएको थियो। त्यसको चार सेकेन्डपछि दुवै स्विच पुनः ‘रन’ पोजिसनमा फर्काइएको थियो। तर, केही मिनेटपछि एक पाइलटले ‘मे डे, मे डे, मे डे’ भन्दै आपतकालीन सन्देश दिए र त्यसको लगत्तै विमान विस्फोट दुर्घटना भएको थियो।
घटनाको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएपछि एयर इन्डियाले एक विज्ञप्ति जारी गरेको छ। कम्पनीले अनुसन्धानमा सबै सरोकारवालाहरूसँग पूर्ण समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।
दुर्घटनाको प्रारम्भिक रिपोर्ट : दुई महत्त्वपूर्ण तथ्य
एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक रिपोर्टमा अनुसन्धानकर्ताहरूले दुईवटा महत्त्वपूर्ण कुरा पत्ता लगाएका छन्।
पहिलो कुरा, विमानले उडान भरेको केही सेकेन्डमै दुवै इन्जिनको फ्युल कट-अफ स्विच ‘रन’ बाट ‘कटअफ’ पोजिसनमा गएको थियो, जसकारण विमान एक्कासी १८० नट्सको गतिमा बन्द भयो। ककपिट भ्वाइस रेकर्डिङमा एक पाइलटले अर्कोलाई “इन्जिन किन बन्द गरेको?” भनेर सोधेका छन्, तर अर्को पाइलटले आफूले त्यसो नगरेको बताएका छन्।
बीबीसी संवाददाता सौतिक बिस्वासले यो रिपोर्टपछि उठेका प्रश्नहरूबारे प्रकाश पारेका छन्। उनी भन्छन्: “यसले प्रश्न उठाउँछ कि यो न त सामान्य कार्य थियो, न त गल्तीले भएको थियो। इन्जिनियरहरूका अनुसार, यी स्विचहरू सुरक्षा कवचभित्र हुन्छन् र यिनलाई चलाउन जानीजानी प्रयास गर्नुपर्छ। यस्तो सामान्यतया इन्जिनमा आगलागी जस्ता आपतकालीन अवस्थामा गरिन्छ, उडानको बीचमा होइन।”
दोस्रो महत्त्वपूर्ण कुरा, प्रारम्भिक निष्कर्षमा सन् २०१८ को फेडरल एभिएसन अथोरिटीको एक चेतावनीबारे उल्लेख गरिएको छ। उक्त चेतावनीमा फ्युल स्विचको लकिङ मेकानिजममा सम्भावित खराबी आउन सक्नेबारे सचेत गराइएको थियो। तर, यदि कुनै प्राविधिक गडबडी थियो भने त्यसले कसरी दुवै स्विचलाई लगभग एकैसाथ बन्द गर्न सक्छ भन्ने स्पष्ट छैन।
यो चेतावनी केवल सुझावको रूपमा दिइएको थियो र एयर इन्डियाले यसबारे कुनै जाँच गराएको थिएन। कम्पनीले सन् २०१९ र २०२३ मा थ्रोटल मोड्युल परिवर्तन गराए पनि त्यसको फ्युल कन्ट्रोल स्विचसँग कुनै सम्बन्ध देखिँदैन।
अहिलेसम्म यो घटना मानवीय त्रुटि थियो वा कुनै प्राविधिक खराबीको परिणाम थियो भन्ने स्पष्ट हुन सकेको छैन। अनुसन्धान अगाडि नबढेसम्म यसको वास्तविक कारण पत्ता लाग्ने देखिँदैन ।