शेखर कोइराला भन्छन् : बिचौलियाले मन्त्री क्वाटरमा घुसको ब्रिफकेस छाड्छन्

सहयात्रा टिभी

काठमाडौं । असार ३१, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको कार्यशैलीप्रति तिखो व्यंग्य गर्दै बिचौलियाले मन्त्री निवासमै घुसको ब्रिफकेस पुर्‍याउने गरेको दाबी गरेका छन्। उनले भ्रष्टाचार प्रकरणमा मुछिएका मन्त्रीहरूलाई प्रधानमन्त्रीले संरक्षण दिएकोप्रति पनि गम्भीर असन्तुष्टि जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. कोइरालाले देशको वर्तमान राजनीतिक अभ्यासप्रति कटाक्ष गरेका हुन्। उनले लेखेका छन्, “यस्तै रहेछ यहाँको चलन, मन्त्रीक्वाटरमा बिहानै आएर विचौलियाले घुसको ब्रिफकेस छाड्छन्। आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्रिपरिषद् बैठकमा भाग लिन्छन्।”

डा. कोइरालाले सरकारको मात्र नभई प्रमुख प्रतिपक्षी दल र सत्ता साझेदार आफ्नै पार्टी नेपाली कांग्रेसको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।

उनले प्रतिपक्षी दलले केवल कर्मकाण्डी रूपमा राजीनामा माग्ने गरेको र सत्ता गठबन्धनको सहयात्री नेपाली कांग्रेस ‘साक्षी किनाराका सदर’ अर्थात् मौन रमिते मात्रै बनेको भन्दै आलोचना गरेका छन्। उनको यो टिप्पणीले सरकारमा व्याप्त भ्रष्टाचार र राजनीतिक दलहरूको निष्क्रियताप्रति तीव्र असन्तुष्टि रहेको संकेत गर्दछ।

प्रकाशित : 15 July, 2025

प्रतिक्रिया दिनुहोस्