पूर्वराष्ट्रपति भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता, के के भयो कुराकानी ?

काठमाडौं । साउन २, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। भण्डारीको निजी निवास भंगालमा भएको भेटमा समसामयिक राजनीति र साझा चासोका विषयमा छलफल भएको हो।
करिब पौने एक घण्टा लामो ‘वान-अन-वान’ भेटमा डा. कोइरालाले आफूले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा साथ दिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह गरेका थिए। “सरकार गठनपछि सुशासन कायम हुने अपेक्षा थियो, तर भ्रष्टाचार घटेन। म एक्लै बोलिरहेको छु, परिणाम आएको छैन। अब तपाईंले पनि आफ्नो ठाउँबाट आवाज उठाउनुपर्यो,” कोइरालाको भनाइ थियो।
जवाफमा पूर्वराष्ट्रपति भण्डारीले आफ्नो भावी राजनीतिक सक्रियताका लागि डा. कोइरालाको नैतिक समर्थन मागेकी थिइन्। डा. कोइरालाले त्यसमा सकारात्मक आश्वासन दिँदै भ्रष्टाचार जस्तो साझा मुद्दामा आ-आफ्नो स्थानबाट सहकार्य गर्ने समझदारी बनेको बताइएको छ। यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।