२० वर्षसम्म कोमामा रहेका साउदी अरबका राजकुमार वालिदको निधन

सहयात्रा टिभी

काठमाडौं । साउन ४, दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ। कार दुर्घटनापछि गम्भीर घाइते भई लामो समयदेखि अचेत अवस्थामा रहेका कारण उनी ‘स्लिपिङ प्रिन्स’ (सुतेका राजकुमार) का रूपमा चिनिन्थे।

सन् २००५ मा १५ वर्षको उमेरमा लन्डनमा सैन्य तालिम लिइरहेका बेला उनी भयानक कार दुर्घटनामा परेका थिए। दुर्घटनामा उनको मस्तिष्कमा गहिरो चोट लाग्नुका साथै आन्तरिक रक्तस्राव भएको थियो। विश्वका उत्कृष्ट चिकित्सकहरूको प्रयासका बाबजुद उनी कहिल्यै होसमा फर्कन सकेनन्।

राजकुमार वालिद अचेत भए पनि उनका पिता राजकुमार खालिदले छोरा एक दिन निको हुने आशा कहिल्यै त्यागेनन्। चिकित्सकहरूले जीवन रक्षक उपकरण हटाउन पटक-पटक सुझाव दिए पनि उनले ईश्वरीय चमत्कारमा विश्वास राख्दै त्यसलाई अस्वीकार गर्दै आएका थिए। परिवारका सदस्यहरूले उनको छेउमा बसेर कुरान सुनाउँदा कहिलेकाहीँ उनको शरीर चलमलाउँथ्यो, जसले आशाको झिनो त्यान्द्रो जगाइरहन्थ्यो।

तर, हालै साउदी स्वास्थ्य केन्द्रले उनको निधनको औपचारिक घोषणा गरेसँगै २० वर्ष लामो प्रतीक्षाको अन्त्य भएको छ। उनको निधनको खबर सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा ‘#SleepingPrince’ ह्यासट्याग ट्रेन्डिङमा छ। हजारौं मानिसले राजकुमार वालिदलाई धैर्य र आस्थाको प्रतीकका रूपमा सम्झिँदै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। साथै, छोराको निको हुने आशामा वर्षौंसम्म उनको शय्या कुरेर बसेका पिताको माया र धैर्यको पनि विश्वभर प्रशंसा भइरहेको छ।

प्रकाशित : 20 July, 2025

प्रतिक्रिया दिनुहोस्