काम नपाए पार्टीमा नबस्ने वामदेव गौतमको चेतावनी

काठमाडौं । साउन ७, नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले आफूलाई कामसहितको जिम्मेवारी नदिइए पार्टीमा लामो समय रहन नसक्ने चेतावनी दिएका छन् । उनले पार्टी नेतृत्वसँग पदभन्दा पनि काम गर्ने स्पष्ट कार्यक्षेत्र माग गरेका हुन् ।
बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै भर्खरै पार्टीमा समाहित भएका नेता गौतमले यस्तो बताएका हुन् । उनले पदको लोभमा आफू पार्टीमा नआएको स्पष्ट पार्दै भने, “मलाई के पद दिने भन्ने विषय उठेको छ, तर मलाई पद चाहिँदैन । मलाई काम दिनुस् । काम दिनको निम्ति कुन पद सिर्जना गर्नुपर्छ, कामसहितको सिर्जना गरिदिनुस् ।”
आफ्नो कार्यशैलीबारे प्रस्ट्याउँदै उनले नेतृत्वलाई भने, “यदि तपाईंहरूले पद मात्रै दिनुहुन्छ तर काम दिनुहुन्न भने, म धेरै लामो समय यहाँ बस्न सक्दिनँ । मलाई काम गर्ने क्षेत्र चाहियो, किनकि म काम नगरी बस्न सक्दिनँ ।”
सम्बोधनको क्रममा उनले आफ्नो अन्तिम लक्ष्य नेपालको संविधानमा उल्लेखित समाजवाद निर्माण गर्दै देशलाई विश्वकै विकसित राष्ट्रहरूको पंक्तिमा उभ्याउनु रहेको बताए ।