भाइ-बुहारीको झगडा मिलाउन गएका दाइको हत्या, भाइ पक्राउ

काठमाडौं । साउन ९, सिरहाको गोलबजार नगरपालिका-३ मा आफ्नै भाइले दाइको हत्या गरेका छन्। २५ वर्षीय श्याम सदाले खुकुरी प्रहार गर्दा उनका ३५ वर्षीय दाइ मोतीराम सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरी प्रवक्ता (डिएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार, बिहीबार राति श्याम र उनकी पत्नी कौशल्याबीच घरायसी विषयमा झगडा भएको थियो। सोही झगडा मिलाउन गएका दाइ मोतीराममाथि श्यामले खुकुरीले आक्रमण गरेका थिए।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका मोतीरामलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो, जहाँ राति सवा ११ बजे उनको मृत्यु भयो।
घटनापछि फरार भएका हत्या आरोपी श्यामलाई प्रहरीले शुक्रबार बिहान औरही गाउँपालिकाको सीमा क्षेत्रबाट पक्राउ गरेको छ। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।