वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई प्रविधिमार्फत सेवा दिइने

काठमाडौं । साउन ११, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई प्रविधिमार्फत सहज सूचना उपलब्ध गराउने व्यवस्था गर्न लागिएको बताएका छन् ।
आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले प्रविधि प्रयोगमार्फत श्रम क्षेत्रमा सुधार ल्याउनुपर्नेमा जोड दिए । उनले वैदेशिक रोजगारीमा जाने श्रमिक उचित सूचना अभावमा समस्यामा पर्ने गरेको उल्लेख गरे ।
प्रविधिमा आधारित बहुभाषिक एआई च्याटबोटले यस समस्याको समाधान गर्न सक्ने विश्वास मन्त्री भण्डारीको छ । ‘अब श्रमिकले दूतावाससँग फेसबुक, ह्वाट्स एप वा वेबसाइट मार्फत सिधै बोलेर वा लेखेर प्रश्न गर्दा तुरुन्तै उत्तर प्राप्त गर्न सक्ने व्यवस्था गर्न लागिएको हो,’ उनले भने ।
नेपाली दूतावासमा अत्यधिक फोन आउने तर कर्मचारी संख्या कम भएकाले फोन नउठ्ने जस्ता समस्या समाधानका लागि श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच सहमति अनुसार ‘श्रम सञ्चार’ एपमा एआई च्याटबोट र कल सेन्टर प्रणाली एकीकरण अन्तिम चरणमा पुगेको छ ।
सोही कार्यक्रममा एनआरएनएको प्रविधिक टोलीले मन्त्री भण्डारी सहित श्रम मन्त्रालयका अधिकारीहरूलाई डेमो प्रस्तुति दिएको थियो । श्रममन्त्रीसँगको छलफलमा यस प्रणालीलाई पाइलट प्रोजेक्टका रूपमा यूएईबाट सुरु गरी क्रमशः सबै देशमा विस्तार गर्दै लैजाने सहमति भएको छ ।
‘श्रम सञ्चार’ एपमा एआई च्याटबोट र कल सिस्टम एकीकृत गर्दा विदेशस्थित नेपाली दूतावासहरूमा अत्यधिक फोन कल आउने तर कर्मचारी संख्या अत्यन्त न्यून भएका कारण सिर्जिएको समस्या समाधान हुने विश्वास गरिएको छ ।
त्यसैगरी यो डिजिटल प्रणालीमार्फत विदेशमा रहेका नेपालीले टेलिमेडिसिन, स्वास्थ्य शिक्षा तथा परामर्श सेवा समेत पाउन सक्ने र प्रवासमा नेपालीले भोग्दै आएका विभिन्न समस्या समाधान गर्न सकिने अपेक्षा गरिएको छ ।
कार्यक्रममा एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठले मन्त्री भण्डारी र परराष्ट्रमन्त्री आरजु राणा देउवाको सकारात्मक पहलप्रति आभार व्यक्त गरे ।