मुख्यमन्त्री बहादुर लामालाई पद छाड्न इन्द्र बानियाँको आग्रह

सहयात्रा टिभी

काठमाडौं । साउन १६,नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।

केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त गर्न सुझाएका हुन् ।

‘उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ ‘, उनले भने ।

आफ्नो र मुख्यमन्त्री लामाबीच मनमुटाव नरहेको बानियाँको प्रष्टोक्ति थियो ।

बुधबार भएको निर्वाचनमा मुख्यमन्त्री समेत रहेका लामालाई पराजित गर्दै बानियाँ दलको नेतामा निर्वाचित भएका हुन् । बानियाँले २२ मत प्राप्त गरेका थिए भने लामाको पक्षमा १४ मत परेको थियो । १ मत बदर भएको थियो । बागतीमा कांग्रेसका ३७ सांसद छन् । बानियाँ कांग्रेस बागमती प्रदेश सभापतिसमेत हुन् ।

यसअघि प्रदेश संसदीय दलको नेता रहेका लामाविरुद्ध बानियाँको नेतृत्वमा अविश्वासको प्रस्ताव ल्याएर हटाइएको थियो । लामाविरुद्ध अविश्वासको प्रस्तावमा मंगलबार भएको मतविभाजनमा २२ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए । लामाको पक्षमा १५ सांसद उभिएका थिए । लामाले दल नेताको हैसियत गुमाएपछि दलको नयाँ नेता चयनका लागि बुधबार निर्वाचन भएको थियो।

लामाले २०७९ पुस १३ मा भएको प्रदेश संसदीय दलको नेता चयन निर्वाचनमा भने बानियाँलाई पराजित गरेका थिए ।

प्रकाशित : 1 August, 2025

प्रतिक्रिया दिनुहोस्