उदयपुरमा अति भारी वर्षा,जलसतहले नाघ्यो सतर्कता तह

काठमाडौं । साउन १८, गएको २४ घण्टामा उदयपुरमा अति भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार उदयपुरको गाईघाट स्टेशनमा १३२ मिलिमिटर वर्षा मापन भएको । गत २४ घण्टायताको यो देशभरकै धेरै वर्षा हो ।
लगातार ठूलो वर्षा भएपछि उदयपुरमा जलसतह पनि उल्लेख्य मात्रामा बढेको छ । गाईघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनाले सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ ।
यसैगरी, पर्वत जिल्लास्थित कालीगण्डकी नदी, मोदी बेनी जलमापन केन्द्रमा जलसतह तह सतर्कता तह आसपास रहेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोशीलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।