लोडसेडिङको तालिका निकाल्ने चनौली वितरण केन्द्रका प्रमुखको सरुवा

काठमाडौं । साउन २१, लोडसेडिङको झल्को दिने गरी विद्युत कटौतीको सूचना निकालेपछि विवादमा तानिएका नेपाल विद्युत प्राधिकरण, चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा भएको छ ।
प्राधिकरणले श्रेष्ठलाई पूर्वी नवलपरासीको कावासोती वितरण केन्द्रमा सरुवा गरेको हो । प्राधिकरणको कर्मचारी सेवा सर्त विनियमावली, २०७५ को विनियम ४९ (१) को खण्ड (ग) बमोजिम उनको सरुवा गरिएको प्राधिकरणले जनाएको छ ।
प्रमुख श्रेष्ठले गत साउन १० गते माग अनुसार विद्युत आपूर्ति गर्न नसकिएको भन्दै एकदिने लोडसेडिङ तालिका सार्वजनिक गरेका थिए । उक्त सूचनापछि प्राधिकरणको चौतर्फी आलोचना भएको थियो ।
व्यापक आलोचनापछि अवस्था बुझ्न प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य साउन १२ गते चितवन पुगेका थिए । तर, कार्यकारी निर्देशक शाक्य समस्याग्रस्त चनौली वितरण केन्द्रमा पुग्दा प्रमुख श्रेष्ठ जिल्लामै रहेर पनि कार्यालयमा अनुपस्थित थिए । शाक्यले अन्य इन्जिनियरहरूसँग छलफल गरेर फर्किएका थिए ।
यसैबीच, पश्चिम चितवनको माडी, जगतपुर, शुक्रनगर, विजयनगर, रामपुर तथा पूर्वी चितवनका केही स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या साउन १३ गतेदेखि समाधान भइसकेको छ ।