एसियन कप छनोट : आज नेपाल र भुटान भिड्दै

काठमाडौं । साउन २१, एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा आज नेपाली युवा महिला टोलीले घरेलु टोली भुटानको सामना गर्दैछ। थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुने यो भिडन्तमा दुवै टोली जितसहित प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन्।
केही साताअघि बंगलादेशमा सम्पन्न साफ यू-२० च्याम्पियनसिपमा भुटानलाई दुई पटक सहजै पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ। तर, घरेलु मैदान र दर्शकको बलियो साथ पाएको भुटानलाई कमजोर आँक्ने गल्ती नेपालले गर्नेछैन। भुटान साफमा व्यहोरेको हारको बदला लिँदै छनोटमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्न चाहन्छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले साफको नतिजाले भुटानलाई कमजोर सोच्न नहुने बताएका छन्। “साफ र एएफसी छनोट खेल्नु फरक कुरा हो। भुटान घरेलु मैदानमा खेल्दैछ र उनीहरुलाई दर्शकको ठूलो साथ हुनेछ,” प्रि-म्याच कन्फरेन्समा गुरुङले भने, “भुटान दिन प्रतिदिन राम्रो हुँदै गएको छ। हामी उनीहरुलाई पूर्ण सम्मानका साथ खेल्नेछौं।”
यता, भुटानी प्रशिक्षक टंक माया घलेले पनि आफ्नो टोली छनोटका लागि पूर्ण रुपमा तयार रहेको बताइन्। “हामी छनोटका लागि तयार छौँ र खेलाडीहरू निकै सकारात्मक छन्,” उनले भनिन्, “साफ च्याम्पियनसिपबाट हामीले धेरै अनुभव बटुलेका छौं। पुराना गल्तीहरूलाई सच्याउँदै यस पटक राम्रो नतिजा निकाल्नेमा हामी विश्वस्त छौं।”
साफमा व्यहोरेको फराकिलो हारको बदला लिने दाउमा भुटान रहँदा, नेपाल भने सोही लयलाई निरन्तरता दिँदै विजयी सुरुवात गर्न चाहन्छ। यसर्थ, आजको भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ।