मजदुरीका लागि गएका धादिङका ४ जना उत्तराखण्ड बाढीपहिरोमा सम्पर्कविहीन

सहयात्रा टिभी

काठमाडौं । साउन २३, भारतको उत्तराखण्डमा मजदुरीका लागि गएका धादिङको ज्वालामुखी गाउँपालिकाका चार जना नेपाली पनि सम्पर्कविहीन भएका छन् ।

उनीहरुको खोजीका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमार्फत् भारतीय दूतावासलाई अनुरोध गरेको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानी ठेगाना भएका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएका हुन् ।

साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । त्यहाँ खोज तथा उद्धार कार्य जारी छ ।

यसअघि उत्तराखण्डको बाढीमा जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका एक जना सम्पर्कविहीन भएको स्थानीय जनप्रतिनिधिहरुमार्फत् जानकारी आएको थियो । धादिङका समेत चार जना थपिएपछि सम्पर्कविहीन हुने नेपालीको संख्या २२ पुगेको छ ।

जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार त्यहाँका १३ जना नेपाली सम्पर्कविहीन छन् । उनका अनुसार कुशे गाउँपालिका वडा नम्बर २ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, निम सिंह, रविन सिंह र परिचय नखुलेका अरु ७ जना बाढीपहिरोमा परेको जानकारी त्यहाँ रहेका नेपालीहरुले दिएका छन् ।

यसैगरी बर्दिया मधुवनका नरेन्द्र खड्का, सरस्वती खड्का, अमृता परियार र सुवास विक पनि बाढीमा परेर बेपत्ता भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् ।

 

प्रकाशित : 8 August, 2025

प्रतिक्रिया दिनुहोस्