आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाइँदै, राष्ट्रपतिले सम्बोधन गर्ने

सहयात्रा टिभी

काठमाडौं । साउन २७, हरेक वर्ष १२ अगष्टमा मनाइने अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘दिगो विकास र सुनौलो भविश्यको सार: स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो ।

अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी कार्यक्रम गरी मनाइँदै आए पनि मूल समारोह आज आयोजना हुँदैछ । बिहान १० बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने मूल समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्वोधन गर्ने कार्यक्रम छ ।

युवा दिवस मनाउन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा २८५ संस्थागत सदस्यसहित मूल समारोह समिति र राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा १७ सदस्यीय सचिवालय गठन गरिएको थियो ।

नेपालको संविधानमा उल्लेखित युवा सम्वन्धी व्यवस्थालाई कार्यान्वयन गर्न, युवा केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति र कानून निर्माणमा पैरवी गर्न, युवालक्षित मुद्दाहरूका सवालमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सचेतना अभिवृद्धि गर्न उत्सवमय ढंगले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ ।

सन् १९९८ को अगष्ट ८–१२ मा पोर्चुगलको राजधानी लिसवनमा विश्वका १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरुको विश्वस्तरीय सम्मेलनले युवाको पक्षमा ८८ बुँदे घोषणापत्र जारी गरेको थियो । सोही सम्मेलनको सिफारिस अनुसार १७ डिसेम्बर १९९९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ५४ औं साधारण सभाले १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार सन् २००० देखि हरेक वर्षको १२ अगस्टमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा अनलाइनखबर डटकमले यस वर्षको ४० वर्ष मुनिका ४० प्रभावशाली युवाको सूची सोमबार सार्वजनिक गरेको थियो ।

 

प्रकाशित : 12 August, 2025

प्रतिक्रिया दिनुहोस्