नाउपाको अध्यक्षमा रञ्जितालाई नै आयोगको मान्यता

काठमाडौं । साउन २८, निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको नेतृत्व विवाद टुंग्याउँदै रञ्जिता श्रेष्ठलाई नै आधिकारिक अध्यक्षको मान्यता दिएको छ। अर्को पक्षले अध्यक्ष दाबी गर्दै निवेदन दिएका लालवीर चौधरीको दाबीलाई आयोगले खारेज गरेको छ।
पार्टीको एक समूहले राष्ट्रिय भेला आयोजना गरी रञ्जितालाई पदच्युत गर्दै लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको थियो। सोही निर्णयलाई आधिकारिकता दिन चौधरीले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए।
आयोग स्रोतका अनुसार, मंगलबार राति बसेको बैठकले उक्त राष्ट्रिय भेला राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधानसम्मत नभएको ठहर गरेको हो। अन्तिम निर्णयमा पुग्नुअघि आयोगले दुवै पक्षलाई पत्रमार्फत स्पष्टीकरण सोधेको थियो, जसमा दुवैले आफू नै आधिकारिक अध्यक्ष भएको दाबी पेस गरेका थिए।
आयोगले दुवै पक्षको जवाफ, प्रचलित कानुन र पार्टीको विधानको विस्तृत अध्ययनपछि रञ्जिता श्रेष्ठको अध्यक्षतालाई नै निरन्तरता दिने निर्णय गरेको हो।