ट्रम्पले अघि सारे दुई सर्त : युक्रेन नेटोमा सामेल नहुने, क्रिमिया रुसलाई छाड्दिने

सहयात्रा टिभी

काठमाडौं । भदौ २, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्नका लागि एउटा प्रस्ताव अघि सारेका छन् । उनले युक्रेन नेटोमा सामेल नहुने र क्रिमियामाथिको दाबी छाड्ने सर्त मानेमा रुससँगको युद्ध अन्त्य हुन सक्ने बताएका छन् ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग ह्वाइट हाउसमा हुने भेटवार्ताअघि ट्रम्पको यस्तो भनाइ आएको हो । उनले भने, “यदि जेलेन्स्कीले चाहन्छन् भने, उनीहरूले रुससँगको युद्ध तुरुन्तै अन्त्य गर्न सक्छन् ।”

ट्रम्पले अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटेपछि जेलेन्स्कीलाई अमेरिका बोलाएका हुन् । उक्त भेटमा ट्रम्पले युद्धविराम मात्र नभई स्थायी शान्ति सम्झौतामा जोड दिएका थिए ।

तर, युक्रेनले यी दुवै सर्तलाई अस्वीकार गर्दै आएको छ । नेटोमा सामेल हुनु आफ्नो सार्वभौम अधिकार भएको युक्रेनको भनाइ छ ।

अमेरिका आइपुगेका जेलेन्स्कीले भने सहयोगी देशहरूबाट प्रभावकारी सुरक्षा ग्यारेन्टीको माग गरेका छन् । उनले ट्रम्पको निमन्त्रणाप्रति आभार व्यक्त गर्दै युद्धको छिटो र विश्वसनीय अन्त्य चाहेको बताएका छन् ।

यसैबीच, एक अमेरिकी दूतले पुटिन युक्रेनका लागि नेटोजस्तै छुट्टै सुरक्षा सम्झौता गर्न तयार रहेको बताएका छन् । उनका अनुसार यो सम्झौताले भविष्यमा हुने आक्रमणबाट युक्रेनलाई बचाउन सक्छ, जुन नेटोको धारा ५ जस्तै हुनेछ । रुस आफ्नो सिमानामा नेटो सेना नआओस् भन्ने चाहन्छ ।

ट्रम्प र जेलेन्स्कीको वार्तामा नेटोका महासचिव मार्क रुटे र बेलायती प्रधानमन्त्री सर कियर स्टार्मर पनि सहभागी हुनेछन् । यसअघि नै फ्रान्स, जर्मनी, इटाली लगायतका युरोपेली नेताहरूले युक्रेनलाई आफ्नो समर्थन रहेको जनाइसकेका छन् ।

ट्रम्पले जेलेन्स्कीलाई सम्झौताका लागि दबाब दिन सक्ने चिन्ता केहीले व्यक्त गरेका छन् । तर, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यस्तो कुरालाई ‘मूर्ख मिडिया कथा’ भनेर खण्डन गरेका छन् ।

रुसले सन् २०१४ मा क्रिमियामाथि कब्जा जमाएको थियो भने सन् २०२२ फेब्रुअरीदेखि युक्रेनमाथि पूर्ण आक्रमण गरिरहेको छ । हाल रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रकाशित : 18 August, 2025

प्रतिक्रिया दिनुहोस्