विपिन जोशीको रिहाइका लागि सरकारले सबै प्रयास गरिरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । भदौ २, प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशीलाई सुरक्षित रूपमा छिटोभन्दा छिटो छुटाउन सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै उनले जोशीको रिहाइ सरकारको मुख्य जिम्मेवारी भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले लेखेका छन्, “सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको छ । विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ ।”
उनले सरकार विपिनको परिवारको साथमा रहेको बताउँदै परिवारलाई सान्त्वना दिएका छन् ।
प्रधानमन्त्रीका अनुसार, इजरायलस्थित नेपाली दूतावासको सहयोगमा विपिनकी आमा र बहिनीले इजरायलका राष्ट्रपति आइज्याक हर्जोग र त्यहाँको संसद्का अध्यक्ष अमिर ओहानासँग भेटेर रिहाइका लागि सहयोग मागेका छन् ।
प्रधानमन्त्री ओलीले आफूले पनि यसअघि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल-सिसीसँग फोनमा कुरा गरेर विपिनको रिहाइका लागि सहयोग गर्न आग्रह गरेको जानकारी दिए ।
उनले इजरायलमा रहेर सहयोग गर्ने नेपालीहरू, स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ताहरूलाई धन्यवाद दिएका छन् ।