संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवको असन्तुष्टि

काठमाडौं । भदौ १५, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान कार्यान्वयनको अवस्थाप्रति असन्तुष्टि जनाएका छन् ।
२०७२ साल असोज ३ गते संविधान घोषणा हुँदा कतिपयले दिपावली गरेको र कतिपयले कालो दिवस भनेको स्मरण गर्दै उनले संविधान लागू हुने गरी आवश्यक ऐन बन्न नसकेको भनेर असन्तुष्टि जनाएका हुन् ।
अध्यक्ष यदावका अनुसार मौलिक हक नै पनि कार्यान्वयन हुन सकिरहेको छैन । संविधान कार्यान्वयनका लागि २७ भन्दा बढी संघीय ऐन नै बन्न बाँकी रहेको छ ।
उनी भन्छन्, ‘एक दशक बित्दा पनि संविधान कार्यान्वयनका लागि मौलिक हकलाई कार्यान्वयनका लागि, संघीयता कार्यान्वयनका लागि, समावेशिता कार्यान्वयनका लागि धेरै कानुन बन्नु पर्थ्यो त्यो बन्न सकेको छैन ।’
संविधान घोषणा गर्दा धारा ४७ मा संविधान प्रारम्भ भएको तीन वर्ष भित्र मौलिक हक कार्यान्वयन गर्ने भनेर कानुन बनाई सक्ने भनेर प्रावधान राखिएको उनले स्मरण गरे । ‘तीन वर्ष भित्र बनाउने भनिएको थियो तर, १० वर्ष भन्दा भइसक्यो, सात वर्ष बढी समय भइसक्यो’, प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘अहिले पनि मौलिक हक कार्यान्वयन गर्नका लागि करिब २७ वटा कानुन बन्न बाँकी नै छ ।’
संविधानमा जनताले पाएको मौलिक हकलाई कार्यान्वयन गर्ने गरी कानुन नबन्ने र जनताले मौलिक हक उपभोग नपाउने अवस्था कहिले सम्म राख्ने हो भन्ने उनको प्रश्न छ ।