मोदी रूस र चीनका नेतासँग नजिकिएको विषयमा अमेरिकाको आपत्ति

काठमाडौं । भदौ १७, ट्रम्पका व्यापार सल्लाहकार पीटर नवारोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रूस र चीनका नेतासँग नजिकिएको विषयमा आपत्ति जनाएका छन्।
‘मोदीको सी जिनपिङ र भ्लादिमिर पुटिनसँग उभिनु लज्जास्पद छ। थाहा छैन उनी के सोचिरहेका छन्। हामीलाई आशा छ उनी बुझ्नेछन् कि उनी रूसको सट्टा हाम्रो (अमेरिकाको) पक्षमा हुनुपर्छ,’ उनले भने ।
नवारोले सोमबार भारतीय ब्राह्मणहरूले रूसी तेल किनेर नाफाखोरी गरिरहेको आरोप लगाएका थिए । ‘भारतले रूसबाट तेल किनेर उसलाई युक्रेनमाथि आक्रमण गर्न पैसा दिइरहेको छ। यसको सबैभन्दा ठूलो भार भारतीय आमजनताले व्यहोर्नुपरेको छ, न कि रूस वा अमेरिकाले,’ उनले भनेका थिए ।
नवारोले भारतलाई ‘रूसको वाशिङ मेसिन’ को संज्ञा दिंदै भारतले व्यापार घाटा बढाइरहेको मात्र नभएर अमेरिकी हितविपरीत गठबन्धनहरू पनि मजबुत पारिरहेको आरोप लगाएका छन् ।
उनले केही समयअघि ब्लूमबर्ग टिभीसँगको अन्तर्वार्तामा रूस–युक्रेन युद्धलाई मोदी वार (मोदीको युद्ध) भनेका थिए। उनका अनुसार, भारतले रूसबाट सस्तो तेल किनेर रिफाइन गरी महँगोमा बेचिरहेको छ, जसले रूसलाई युद्धका लागि पैसा दिन्छ र उसले युक्रेनमाथि आक्रमण गर्छ।
उनले अझै भनेका थिए, ‘यदि भारतले आजै रूसबाट तेल किन्न बन्द गरिदियो भने भोलिदेखि नै अमेरिका भारतमाथि लगाएको २५ प्रतिशत भन्सार शुल्क हटाइदिनेछ।’