नाउपाले केन्द्रीय कमिटीमा पदाधिकारीको व्यवस्था नराख्ने

सहयात्रा टिभी

काठमाडौं । भदौ १७, नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्रीय कमिटीमा पदाधिकारीको व्यवस्था नराख्ने भएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षको आइतबार र सोमबार बसेको बैठकले पदाधिकारी नराख्ने निर्णय गरेको हो।

संरक्षक रेशम चौधरी अनुपस्थित रहेको बैठकले निर्वाचन आयोगमा केन्द्रीय कमिटी अद्यावधिक गर्ने निर्णय गरेको छ । केन्द्रीय सदस्य दामोदर पण्डितले नाम अद्यावधिक गर्ने क्रम जनप्रतिनिधिहरुबाट सुरु हुने बताए।

पार्टी बैठक आव्हान गरेर नाम अद्यावधिक गराउन अध्यक्ष रञ्जिताले चासो नदिएको भन्दै रेशम पक्ष उनीसँग रुष्ट भएको थियो ।

निर्वाचन आयोगले अध्यक्षको मान्यता रञ्जितालाई दिएपछि उनले बैठक डाकेर विधान संशोधन गर्ने र अद्यावधिक गर्ने निर्णय गराएकी हुन्। विधान संशोधन पार्टीको केन्द्रीय समितिको दुई तिहाई मतले मात्रै सम्भव हुन्छ।

विधान संशोधनका लागि दुई तिहाई संख्या पुग्ने पण्डितले दाबी गरे । नाउपाको विधान अनुसार २०१ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ ।

संस्थापक २१ जना केन्द्रीय सदस्य मध्ये हाल क्रियाशील १६ जना रहेका छन् । दुई दिन बसेको बैठकले एकैपटकमा २०१ जना केन्द्रीय सदस्य नबनाई क्रमशः थप्दै जाने निर्णय लिएको छ।

केन्द्रीय सदस्य हुनका लागि दस्तुर बुझाएका तर कमिटीमा समावेश हुन नसकेकाहरुलाई प्रमाण सहित सम्पर्कका लागि आव्हान गरिने पण्डितले जानकारी गराए।

प्रकाशित : 2 September, 2025

प्रतिक्रिया दिनुहोस्