प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै

काठमाडौं । भदौ २४ , नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ । जेनजी युवाले सरकारविरुद्ध हिजो गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुको बैठक बोलाएका हुन् ।
बैठक आज बिहान साढे ८ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ । बैठकमा देशको पछिल्लो अवस्था, जेनजी युवाको आन्दोलन र विपक्षी दलका आगामी कार्यक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।
माओवादी केन्द्रको हिजो बसेको पदाधिकारी बैठकले हिजो मारिएका सबै १९ जनालाई शहीद घोषणा गर्नुपर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने निर्णय गरेको थियो । साथै सबै पालिकाहरुमा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
रास्वपा सहभागी नहुने
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले बोलाएको बैठकमा विपक्षी दल रास्वपाले सहभागी नहुने जनाएको छ । रास्वपा प्रवक्ता मनिष झाले आफूहरु प्रचण्डले बोलाएको बैठकमा सहभागी नहुने बताए । उनले भनेका छन्, ‘आजको गम्भीर र असामान्य अवस्थामा हाम्रो प्राथमिकता कर्मकाण्डभन्दा पार्टीभित्रै सार्थक आन्तरिक छलफलमा जुट्नु हो ।’